काठमाडौं । काठमाडौंमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। आइतबार दिउँसो टेकुस्थित दोवानपुल नजिक भएको अपरेसनमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पञ्चपुरी–५ का १९ वर्षीया शोफिया मगर तथा भारत, उत्तर प्रदेशको रुपैडियाका २५ वर्षीय राज सोनी रहेका छन्।
ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार पक्राउका क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागेर भारतीय नागरिक राज सोनी घाइते भएका छन्। उनको दायाँ घुँडामा र बायाँ घुँडामुनि गोली लागेको छ।
घाइते सोनीको राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।








