विराटनगर । झापाको गौरीगन्ज गाउँपालिकामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोरङका दुई जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज–२ स्थित कृष्ण खोलानजिक शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट (बीआर ३८ एच ५५४७) को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि स्लामको दमक अस्पतालमा र हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा संलग्न कार र मोटरसाइकल दुवै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतक मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








