२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

चीनको जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु

काठमाडौं । चीनको पूर्वी फुजियान प्रान्तस्थित एक जुत्ता कारखानामा बिहीबार भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। आगलागीपछि ठूलो संख्यामा दमकलकर्मी र उद्धार टोली परिचालन गरिएको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे जिनजियाङ शहरस्थित हुइटेङ जुत्ता कारखानामा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका धेरै कामदार फसेका थिए।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनालाई अत्यन्त दुःखद भन्दै प्रभावकारी उद्धार, घाइतेको उपचार र घटनाका जिम्मेवारमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

 

विपद् व्यवस्थापन मन्त्रालयका अनुसार १८३ जना उद्धारकर्मी र ३५ वटा उद्धार सवारीसाधन घटनास्थलमा परिचालन गरिएको थियो। कारखानाभित्र रहेका जुत्ता उत्पादनका कच्चा पदार्थ र ज्वलनशील टाँस्ने पदार्थका कारण आगो अझ तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

बिहीबार साँझसम्म आगो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। यद्यपि, केही व्यक्ति अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य जारी छ।

 

राष्ट्रपति सीले पछिल्ला औद्योगिक दुर्घटनाबाट गम्भीर पाठ सिक्दै देशभरका उद्योगहरूमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर