२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

चीनमा टाइफुन ‘बवी’ को खतरा बढ्यो, उच्च सतर्कता जारी

बेइजिङ । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा अब शक्तिशाली टाइफुन ‘बवी’ को खतरा थपिएको छ। पूर्वी तटीय क्षेत्रमा टाइफुन नजिकिँदै गएपछि सरकारले उच्च सतर्कता अपनाउँदै हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ।

मौसम अधिकारीहरूका अनुसार प्रतिघण्टा १६२ किलोमिटर सम्मको गतिमा अघि बढिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तरी भाग हुँदै शनिबार रातिसम्म चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्रमा स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ।

ताइवानमा भारी वर्षा र तीव्र हावाको चेतावनीपछि राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन्। उत्तरी तटीय क्षेत्रमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा फर्काइएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन्।

चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएकोnछ भने सम्भावित विपद्का लागि करिब १ लाख ७० हजार उद्धारकर्मी तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यस्तै, फुजियान प्रान्तले जलमार्ग सेवा आंशिक रूपमा स्थगित गर्दै सबै माछा मार्ने डुङ्गालाई तत्काल बन्दरगाह फर्किन निर्देशन दिएको छ।

यसअघि दक्षिणी चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण आएको बाढीमा ३९ जनाको मृत्यु भएको थियो। त्यसैगरी, मध्य चीनको हुबेई प्रान्तमा भीषण आँधीबाट थप ११ जनाको ज्यान गएको छ।

पश्चिमी चीनको गान्सु प्रान्तमा भूस्खलनका कारण २१ जना वनकर्मीको मृत्यु भएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यसमेत प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर