२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

चुनावमा टिकटका आकांक्षी देउवा पक्षका नेताहरू गर्न थाले सभापति थापालाई फोन

काठमाण्डौ । कांग्रेसका सभापति गगन थापालाई उम्मेदवारका आकांक्षीहरूले फोन गर्न थालेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति थापालाई बधाईसहित जिल्ला-जिल्लाबाट नेताहरूले फोन गर्न थालेका हुन्।

क्षेत्रीय कार्यसमिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका आकांक्षीमध्येबाटै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरिने कांग्रेसले जनाएको छ।

यसका लागि सभापति थापासहित १३ पदाधिकारी रहेको संसदीय बोर्डसमेत गठन भएर छलफल अघि बढिसकेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

‘हामी निर्वाचनकेन्द्रित तयारीमा लागेका छौं, हामीसँग छोटो समय छ, त्यो छोटो समयमा उम्मेदवार छनोट गर्नुपर्नेछ, साथीहरू टाढाटाढा जानुपर्नेछ, पार्टी संसदीय बोर्ड बैठक आजैदेखि बस्छ, हामी काममा केन्द्रित छौं,’ प्रवक्ता चालिसेले भने।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा र उनीनिकट समूह विरोधमा छ।

निर्वाचन आयोगको निर्णयविरूद्ध भोलि सर्वोच्च अदालत जाने विघटित केन्द्रीय समितिको आज सानेपामा बसेको बैठकले निर्णय गरेको छ।

यस्तो अवस्थामा जिल्ला-जिल्लाबाट उम्मेदवार सिफारिस भएका नेताहरूले आफू ‘रूख’ चिह्नबाटै चुनाव लड्ने भन्दै सभापति गगन थापालाई फोन गर्न थालेका छन्।

‘अहिलेसम्म करिब ३० जना नेताहरूले सभापतिज्यूलाई फोन गरेर बधाई दिँदै आफू कांग्रेसबाटै चुनाव लड्न चाहेको कुरा गर्नुभएको छ,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘विशेष महाधिवेशनमा खुल्न मिलेको थिएन तैपनि हामीले चाहेको सभापति तपाईं नै हो भन्दै टिकटका आकांक्षी नेताहरूले फोन गर्न थाल्नुभएको छ।’

यसअघि विशेष महाधिवेशन विपक्षमा ४८ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेका थिए।

जिल्लाहरूबाट एक क्षेत्रका लागि कम्तीमा ३ जनादेखि बढीमा १७ जनासम्म उम्मेदवार सिफारिस भएका थिए। कांग्रेस संसदीय बोर्डले छलफल गरी सुरूमा हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन खोजेको छ।

उम्मेदवार सिफारिस भएका र नभएकाहरूले पनि सभापति थापासँग कुराकानी गर्न थाले पनि निवर्तमान सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीसँग आज दिउँसोसम्म ‘वान टू वान’ संवाद हुन सकेको छैन।

हामीले कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लाई निवर्तमान सभापति र उक्त समूहका नेताहरूसँग कुराकानी भएको छ कि छैन भनेर सोधेका छौं।

उनले निवर्तमान सभापतिसँग संवाद भइरहेको दाबी गरे। को-कोसँग संवाद भइरहेको हो उनले खुलाउन चाहेनन्। साथै निवर्तमान सभापति देउवाकै अभिभावकत्वमा कांग्रेस निर्वाचनमा जाने उनले बताए।

‘निवर्तमान सभापति र उपसभापतिहरूसँग हाम्रो निरन्तर संवाद भइरहेको छ, हामीले उदारतापूर्वक अघि बढ्छौं, रूख चिह्न र चार तारे झण्डा कांग्रेस सबैको हो, सबैको प्रिय चिज हो,’ उनले भने, ‘हाम्रो निवर्तमान सभापति शेरबहादुर देउवा हाम्रो नेता र अभिभावक हो। लोकतन्त्रका लागि उहाँको ठूलो योगदान र त्याग पनि छ। हामी उहाँकै अभिभावकत्वमा निर्वाचनमा जान्छौं।’

पार्टीले सबैलाई समेट्ने पनि उनले बताए। ‘सबैलाई समेट्दै कांग्रेसलाई बलियो बनाउने हो। निवर्तमान सभापतिलाई आज हामीले आभार व्यक्त गरेका छौं, उहाँको अभिभावकत्व फेरि जरूरी छ,’ उनले भने, ‘उहाँसँग छलफल र संवाद हुन्छ, अरू नेताहरूसँग पनि संवाद हुन्छ।’

निवर्तमान केन्द्रीय सदस्यहरूसँग पनि संवाद भइरहेको उनले बताए।

‘धेरै जिल्लाका सभापति र केन्द्रीय सदस्यहरू सम्पर्कमा हुनुहुन्छ, कतिपयले विज्ञप्तिसमेत निकालिसक्नुभएको छ। मुख्यमन्त्रीदेखि क्षेत्रीय सभापतिहरूसँग हामी सम्पर्कमा छौं,’ उनले भने, ‘हाम्रो दायित्व अझै बढेको छ।’

उनले टिकट वितरणमा पक्षपात नहुने बताए। ‘हिजो विशेष महाधिवेशनको विरोध गर्नेहरूले पनि टिकट पाउँछन्, कोही तेरोमेरो भनिँदैन, पार्टी एकताबद्ध हुन्छ,’ उनले भने।

सहमहामन्त्री स्नेहीले निवर्तमान सभापति देउवा पनि कांग्रेसकै चुनाव चिह्न रूखबाट चुनाव लड्ने बताए।

‘डडेल्धुरामा उहाँको जित सुनिश्चित छ भने रूख भएन भने के होला भन्ने त उहाँलाई पनि होला नि त, अहिलेको परिस्थितिको जिम्मेवार हामी र उहाँ पनि हो। तर अहिले पार्टीलाई उहाँको अभिभावकीय भूमिका जरूरी छ, उहाँको क्षेत्र मात्र होइन, अहिले पनि विभिन्न क्षेत्रमा उहाँले यसो गर भनेर भन्न सक्नुहुन्छ, त्यो दायित्व अहिले पनि उहाँको छ। हामी उहाँसँग छौं, उहाँ हामीसँग रहनु हुन्छ अब कुरा भनेका उत्तेजना र आवेसका हुन्,’ उनले भने, ‘हामी एकै ठाउँमा उभिन्छौं।’

निर्वाचन आयोग संवैधानिक निकाय रहेको र उक्त निकायको निर्णय निवर्तमान सभापति लगायतले स्वीकार गरी अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

कांग्रेसले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टी एकताबद्ध र बलियो बनाउन योगदान गर्न अपिल गरेको छ।

‘यो समय भनेको पार्टीको एकता, आपसी सद्भाव र सहकार्यको हो। यो एकताबाट नै हामीले आगामी चुनौतीहरू जो हाम्रो अगाडि चुनौतीका पहाड खडा भएका छन्। निर्वाचनहरू छन्। यी लगायत जनतालाई हामीले पार्टीमा जोड्नु छ। सबै कुरालाई मध्यनजर गरेर पार्टीको एकता, सद्भाव कायम राख्दै पार्टीलाई अझै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय भएको छ,’ प्रवक्ता देवराज चालिसेले भने।

उनकाअनुसार निवर्तमान सभापति शेरबहादुर देउवालाई आजको बैठकले आभार व्यक्तसमेत गरेको छ।

‘लामो समयसम्म नेपाली कांग्रेसलाई पुर्‍याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्याङ्न गर्दै आभार व्यक्त गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ,’ उनले भने, ‘उहाँको आगामी दिन हाम्रो पार्टीलाई अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वासका साथ आजको बैठकले उहाँलाई आग्रह र सम्मान गरेको छ।’

पार्टी केन्द्रीय समितिले निवर्तमान सभापति देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गरेको अवस्थामा देउवाले टिकट पाउँछन् कि पाउँदैनन् भन्ने विषय पनि चर्चामा छ।

विशेष महाधिवेशनअघि भएका छलफलमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्कालीन सभापति देउवालाई संरक्षकको भूमिकामा बस्न भनेका थिए। सभापति देउवाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारलाई दिने टिकटमा हस्ताक्षर अरू नेताकै राख्न माने पनि निस्क्रिय भूमिकामा रहन चाहेनन्।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा छ।

‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरूद्ध संवैधानिक एवम् कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ नेता प्रकाशशरण महतले भने‍, ‘भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं।’

सानेपामा आज बसेको बैठकले ‘विशेष महाधिवेशनको औचित्य, वैधानिकता उपस्थित संख्यासमेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय’ भएको निष्कर्ष निकालेको छ।

निवर्तमान सभापति देउवा पक्षका कतिपय नेताहरूले उम्मेदवार सिफारिस भए पनि आफू निर्वाचन नलड्ने घोषणा गर्न थालेका छन्। 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर