जनकपुरधाम, १ साउन — जनकपुर उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गतका अतिक्रमित पोखरी तथा तिनका डिल क्षेत्र सात दिनभित्र खाली गर्न सरकारले निर्देशन दिएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय र तिनका डिल क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन आग्रह गरेको हो।
समितिका अनुसार केही व्यक्ति तथा संस्थाले गुठीको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेर भोगचलन गर्दै आएको पाइएकाले सार्वजनिक सम्पत्ति संरक्षणका लागि यो अभियान सुरु गरिएको हो।
सूचनामा तोकिएको सात दिनभित्र अतिक्रमण हटाएर क्षेत्र खाली नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुर क्षेत्रका गुठी जग्गा, पोखरी र सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।








