जनकपुरधाम । धनुषा जिल्लामा लागू गरिएको कर्फ्यु आदेशको प्रत्यक्ष प्रभाव रेल सेवामा पनि परेको छ। यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै जयनगर–जनकपुर–भंगहा रेलखण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश कायम रहुञ्जेल उक्त रेलमार्गमा कुनै पनि रेल सञ्चालन हुने छैन।
नेपाल रेल्वे कम्पनीले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कर्फ्यु हटेपछि अवस्था सामान्य बनेसँगै नियमित रेल सेवा पुनः सञ्चालन गरिने जानकारी दिएको छ।
कम्पनीका निमित्त प्रशासन प्रमुख अजय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा यात्रुको सुरक्षा र परिस्थितिको मूल्याङ्कनपछि मात्र सेवा पुनः सञ्चालन गरिने उल्लेख गरिएको छ।








