काठमाडौं, २९ असार । ट्राफिक प्रहरीले सवारी चालकबाट असुल गरिएको जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने चर्चा पूर्ण रूपमा भ्रामक र निराधार रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको यस्तो दाबी तथ्यहीन रहेको जनाएको हो।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत उठाइने सम्पूर्ण जरिवाना नेपाल सरकारको राजस्व खातामा जम्मा हुने कानुनी व्यवस्था छ। उक्त रकमबाट ट्राफिक प्रहरीले कुनै प्रकारको कमिसन, अतिरिक्त सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि संसदीय समितिको बैठकमा रास्वपाका सांसद मधु चौलागाईँले ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत कमिसन पाउने दाबी गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा उक्त विषय व्यापक रूपमा चर्चामा आएको थियो।
नेपाल प्रहरीले तथ्यहीन सूचना र अफवाहमा विश्वास नगर्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन सबैमा आग्रह गरेको छ।








