२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

थाइल्याण्डबाट नेपाल भित्र्याइएको ३.२ किलो थाई गाँजा बरामद, भारतीय नागरिकसहित दुई जना पक्राउ

काठमाडौँबाट भैरहवा पठाइएको पार्सलमा लुकाएर ल्याइएको थाई गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ।

 

लागुऔषध नियन्त्रण ब्युरोले थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा पठाइएको शंकास्पद पार्सलबाट ३ किलो २ सय ग्राम थाई गाँजा बरामद गरेको छ। पार्सलमा गाँजा लुकाएर पठाइएको सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा चेकजाँच अघि बढाएको थियो।

 

ब्युरोका अनुसार २०८३ साल साउन २४ गते सम्बन्धित कुरियरमार्फत शंकास्पद पार्सलको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरीले पार्सल जाँच गर्दा फेन्सी सामानभित्र लुकाएर राखिएको अवस्थामा थाई गाँजा फेला पारेको हो।

 

बरामद गरिएको पार्सललाई प्रहरीले निगरानीमा राखी ‘कन्ट्रोल डेलिभरी’ विधिबाट बुझ्न आउने व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

 

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तर प्रदेश, जिल्ला बस्ती, परसरामपुरका १८ वर्षीय निखिल वर्मा रहेका छन्।

 

प्रहरीले उनीहरूको साथबाट ३ किलो २ सय ग्राम थाई गाँजा र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर