झापा, साउन ८ – झापामा दुई महिने शिशुको डाइपरभित्र लुकाएर भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाले सीमापार लागुऔषध तस्करीको नयाँ र चकित पार्ने शैली सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई शङ्काका आधारमा जाँच गरिएको थियो।
जाँचका क्रममा दुई महिने शिशुले लगाएको डाइपरभित्र प्लास्टिकमा पोका पारेर लुकाइएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
यस घटनामा भारतको किसनगञ्ज वडा नं. १२ घर भई हाल बिर्तामोड–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, उनीहरूका दुई महिने छोरा तथा सोही अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुल पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम तथा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
बरामद लागुऔषध, अटो र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








