विराटनगर । सुनसरीको देवानगञ्जमा भएको झडपपछि सिर्जिएको तनावको प्रभाव विराटनगरसम्म पुगेको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजले पठनपाठन स्थगित गरेका छन्।
आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसपछि सोमबार विराटनगरमा विरोध प्रदर्शनसमेत भएको थियो।
विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि सम्भावित सुरक्षा जोखिम, विद्यार्थीको आवतजावतमा हुन सक्ने असहजता तथा विद्यालय बस सञ्चालनमा कठिनाइ हुन सक्ने आकलन गर्दै अधिकांश शैक्षिक संस्थाले आफ्नै निर्णयमा कक्षा सञ्चालन नगरेका हुन्।
यता, घटनाप्रति शोक व्यक्त गर्दै सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन्। ती क्षेत्रमा रहेका विद्यालय तथा अन्य शैक्षिक संस्था पनि बन्द रहेका छन्।
प्रशासनले सुनसरीको दक्षिणी क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ भने स्थानीय बासिन्दालाई शान्ति र संयम कायम राख्न आग्रह गरेको छ।








