धनुषा, साउन ८ – धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेतावनीस्वरूप हवाई फायर गर्दै दुई भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले भारतबाट नेपालमा लागुऔषध बिक्री–वितरण गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न प्रयास गरेका थिए। त्यसपछि प्रहरीले रोक्नका लागि एक राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान भारतीय आधार कार्ड र एक थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषा बुझाइएको प्रहरीले जनाएको छ।








