२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक गतिविधिलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्यालाई प्राथमिकताका साथ समाधान गरिने बताए।

 

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजना तोकिएको समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए।

 

छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे , बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

 

निर्माण व्यवसायीहरूले भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन, बैंकिङ सुविधा र लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै निर्माण उद्योगलाई चलायमान बनाउन सरकारको प्रभावकारी सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

 

छलफलमा प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्माको पनि सहभागिता रहेको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर