२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

नेपालमा ९ वर्ष जेल बसेका अमेरिकी नागरिक अमेरिकामा पनि बाल यौन दुराचारमा दोषी

काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेका एक अमेरिकी नागरिक आफ्नै देश अमेरिकामा पनि सोही प्रकृतिको कसुरमा दोषी ठहर भएका छन्।

अमेरिकी न्याय विभागका अनुसार ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स नेपालमा बालबालिकामाथि गरेको यौन शोषणसम्बन्धी अभियोगमा अमेरिकी संघीय अदालतबाट दोषी ठहर भएका हुन्। नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि उनलाई सन् २०२५ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो। हाल उनी हिरासतमा छन् भने आगामी अक्टोबर २८ मा सजाय निर्धारण हुने जनाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७३ भदौ २४ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट कुम्ब्सलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते उनलाई ९ वर्ष कैद सजाय सुनाएको थियो।

अनुसन्धानका क्रममा कुम्ब्सले नेपालमा कम्तीमा आठ जना बालकमाथि यौन शोषण गरेको खुलेको थियो। उनले पैसाको प्रलोभन, बल प्रयोग तथा नशालु पदार्थ प्रयोग गरी बालबालिकामाथि दुर्व्यवहार गरेको अमेरिकी न्याय विभागले जनाएको छ। उनका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकाका तस्बिरहरू समेत फेला परेका थिए।

यस प्रकरणको अनुसन्धानमा अमेरिकी न्याय विभागसँगै नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, नेपालस्थित अमेरिकी दूतावास तथा गैरसरकारी संस्था ‘नयाँ पाइला’ ले पनि सहकार्य गरेका थिए।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर