काठमाडौं । नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी थालेको छ। स्वदेशमै औषधि उत्पादन विस्तार गर्दै आयातमा निर्भरता घटाउने लक्ष्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच शुक्रबार समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको हो।
हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको छ। आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने योजना बनाइएको छ। यसका लागि अनुसन्धान तथा विकास (R&D), गुणस्तर परीक्षण, उत्पादन अनुमति र आवश्यक प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिनेछ। साथै सरकारी स्वास्थ्य संस्थामा आवश्यक पर्ने अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति पनि लागू गरिनेछ।
समझदारी कार्यान्वयनपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद प्रक्रिया स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत सञ्चालन हुनेछ। यसले सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै स्वदेशमै उत्पादित औषधिको उपयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।







