२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

नेपाल टेलिकमको फोरजी सेवा मुगु–बाजुराका दुर्गम बस्तीमा विस्तार

काठमाडौं, १ साउन । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गर्दै उच्च गतिको मोबाइल इन्टरनेट पहुँच पुर्‍याएको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ नेटा र वडा नं. ५ कुवाडीमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको हो।

 

सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीयका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनीहरूले सेवाको दिगोपन तथा आवश्यकता अनुसार थप विस्तारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

 

नेपाल टेलिकमका अनुसार बाजुराको नेटा क्षेत्रमा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला लगायतका बस्ती र गुम्बा क्षेत्रमा सेवा पुगेको छ। साथै, बाजुराबाट रानिसैन जाने पदमार्गसमेत फोरजी सेवाको पहुँचमा आएको छ।

 

त्यस्तै, कुवाडीमा सञ्चालनमा आएको फोरजी सेवाले कुवाडी खोलाको संगम आसपासका गाउँहरू तथा हुम्लाको ताँजाकोट–२ जाने मार्गसम्म दूरसञ्चार सेवा विस्तार गरेको कम्पनीले जनाएको छ।

 

फोरजी सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले अब उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस कल र एसएमएस सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यसबाट सूचना, शिक्षा, स्वास्थ्य, सरकारी सेवा तथा डिजिटल प्रविधिमा पहुँच अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

 

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ अवधारणाअनुसार देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर