काठमाडौं, ३ साउन — नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाउँदै यस्तो कदमले जनादेश र लोकतान्त्रिक मूल्यको अपमान हुने बताएका छन्।
ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै थापाले तीन दलको संयुक्त सरकार बनेमा प्रदेशसभा प्रतिपक्षविहीन हुने र लोकतान्त्रिक अभ्यास कमजोर पर्ने धारणा राखे।
उनले जनताले दिएको म्यान्डेटभन्दा बाहिर गएर सरकार गठन गर्नु उचित नहुने स्पष्ट पार्दै नेपाली काँग्रेस सिद्धान्तमा सम्झौता नगर्ने बताए। विगतमा सत्ताकै लागि भएका केही राजनीतिक निर्णयहरू त्रुटिपूर्ण रहेको स्वीकार गर्दै अब त्यस्ता गल्ती नदोहोरिने उनको भनाइ थियो।
थापाले सत्तामुखी राजनीतिका कारण २०७२ सालयता देशको राजनीति अस्थिर र दिशाहीन बन्दै गएको उल्लेख गर्दै चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिले जनविश्वास कमजोर भएको बताए।
उनले अबको राजनीति सत्ता केन्द्रित होइन, जनादेश, लोकतान्त्रिक मूल्य र सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने मा जोड दिँदै काँग्रेस सरकारमा सहभागी हुनुभन्दा पनि जनताको विश्वास जोगाउन प्रतिबद्ध रहने बताए।








