२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

प्रधानमन्त्री शाहले भने– पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधान गर्छौं

काठमाडौं, ४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार सिंहदरबारमा आयोजित पुँजी बजार तथा धितोपत्र क्षेत्रका सरोकारवालासँगको छलफलमा उनले बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक कदम चालिने बताएका हुन्।

 

प्रधानमन्त्री शाहले व्यवसायी तथा लगानीकर्ताका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी तत्काल काम अघि बढाइने आश्वासन दिए। समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायहरूले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

 

छलफलमा सहभागीहरूले लगानीकर्ताको मनोबल बढाउने, बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्ने, पूँजीगत लाभकरमा रहेको अन्योल हटाउने, घाटा समायोजनपछि मात्र कर लगाउने व्यवस्था मिलाउने तथा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियमावली ल्याउन सुझाव दिएका थिए।

 

यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, प्रविधिमैत्री प्रणालीको विकास, दक्ष जनशक्ति व्यवस्थापन तथा धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन गरी बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासनको व्यवस्था गर्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।

 

छलफलमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर