काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवासमा पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई प्रहरीको भ्यानमार्फत घर पुर्याइएको हो।
घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्न नदिइएको दाबी गर्दै भने, “मलाई विमानस्थलमा बोल्नै दिएन, प्रहरीले पक्रेर भ्यानमा हाल्यो र अहिले घरमै ल्याएर छाडेको छ।”
प्रसाईंले आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै सञ्चारकर्मीसँग कुरा गर्ने तयारी गरेका थिए। उनी आज झापाबाट काठमाडौं आएका थिए।








