सर्लाही, ३ साउन । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि सुरक्षा निकायले उद्धार प्रयास तीव्र बनाएको छ।
जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको परिसरभित्र रहेको टावरमा चढेका हुन्।
टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरेर आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी **वेदप्रसाद गौतम**का अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गरेका छन्।
प्रहरीका अनुसार उनलाई सुरक्षित रूपमा तल झार्न सम्झाइ–बुझाइ भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरी उद्धार प्रयास जारी रहेको जनाइएको छ।








