२७ असार, काठमाडौं । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेहरूमा पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा जिप चालक देवबहादुर धामी रहेका छन्।
यस्तै, धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।








