काठमाडौं । काठमाडौंको बानेश्वरबाट प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१०, बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा उनीहरूले 1xBet एपमार्फत अनलाइन सट्टेबाजी गर्दै तथा गराउँदै आएको र यस क्रममा २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, USDT लगायतका क्रिप्टोकरेन्सीमा ७९ हजार ६८.६५ USDT, अर्थात् नेपाली रुपैयाँ १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको विवरण फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १ हजार ५०१.३२ USDT, नेपाली रुपैयाँ २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबरको मौज्दात समेत फेला परेको बताइएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन पनि बरामद गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।
पक्राउ परेका उनीहरूमाथि अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।








