२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

बालिकालाई ५० हजारको प्रलोभन र अश्लील हर्कत: चितवनका होटल सञ्चालक पक्राउ

चितवन, असार २८ — चितवनको खैरहनी नगरपालिका–१० स्थित ‘होटल नमस्ते मिलिजुली खाजा घर’का सञ्चालक ३५ वर्षीय विकास कुमार श्रेष्ठ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आफ्नै होटलमा कार्यरत १७ वर्षीया बालिकालाई असार ११ गते होटलकै कोठामा बोलाई ‘शारीरिक सम्पर्क राखे ५० हजार रुपैयाँ दिन्छु’ भन्दै प्रलोभन देखाइएको आरोप छ। बालिकाले प्रस्ताव अस्वीकार गरेपछि पनि श्रेष्ठले यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्ग छोएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, आरोपीले बालिकाको व्हाट्सएप र इन्स्टाग्राममार्फत अश्लील सन्देश पठाउने तथा अश्लील भिडियोहरू सेयर गरेर मानसिक तनावसमेत दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित पक्षको जाहेरीपछि इलाका प्रहरी कार्यालय खैरहनीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनीविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले जानकारी दिएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर