२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

भाडा नतिर्ने उद्योगमाथि सरकारको कडाइ, पाँच उद्योगले बुझाए बक्यौता

काठमाडौं, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सरकारी स्वामित्वका औद्योगिक क्षेत्रको भाडा बक्यौता असुली अभियानले तीव्रता पाएको छ। सात दिनभित्र बक्यौता चुक्ता गर्न दिइएको निर्देशनपछि थप पाँच उद्योगले भाडा रकम बुझाएका छन्।

 

मन्त्रालयका अनुसार ती उद्योगहरूले बुधबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता तिरेका छन्। यससँगै हालसम्म असुल भएको कुल बक्यौता रकम ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा पुगेको छ।

 

बक्यौता चुक्ता गरेपछि हिजो र आज गरी पाँच उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको मन्त्रालयले जनाएको छ। यद्यपि, अझै २१ उद्योगले भाडा नतिरेकाले उनीहरूको विद्युत् आपूर्ति बन्द नै रहेको छ।

 

मन्त्री यादवले तोकिएको समयभित्र बक्यौता नतिर्ने उद्योगको विद्युत् र खानेपानी सेवा कटौती गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सोही निर्देशनपछि बक्यौता तिर्ने उद्योगको संख्या बढ्न थालेको मन्त्रालयको भनाइ छ।

 

तर, सबैभन्दा बढी बक्यौता बाँकी रहेका कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालि र कन्टिनेन्टल सर्भिसेज प्रालि ले भने अझै सरकारी निर्देशन पालना गरेका छैनन्।

 

मन्त्रालयका अनुसार कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा** भाडा बक्यौता तिर्न बाँकी छ।

 

सरकारी निर्णयको अवज्ञा गर्दै दुवै कम्पनीले अझै गोदाम सञ्चालन गरिरहेको पाइएको भन्दै मन्त्रालयले उनीहरूमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र बक्यौता असुलीलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि कडा कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर