२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

मकवानपुरमा कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल बाहिरिए

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने समयमै बाहिर निस्केर पौडिँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७:४५ बजे कर्रा खोला पार गर्ने क्रममा बाढीमा फसेर बगाएको हो।

 

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला पार गर्न ह्युमपाइप राखेर बनाइएको अस्थायी कल्भर्ट (लच्का) माथिबाट एक्कासि पानीको बहाव बढेपछि ट्रक बगाएको हो।

 

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले तत्काल ट्रकबाट बाहिर निस्केर पौडिँदै सुरक्षित किनारमा पुगेर आफ्नो ज्यान जोगाएका हुन्।

 

बाढीबाट उम्कने क्रममा चालक थिङको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको हेटौंडा उपमहानगरपालिका–६, चौघडास्थित एक मेडिकलमा उपचार भइर हेको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर