२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल दोषी, ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

काठमाडौं । प्रसूति उपचारका क्रममा मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई चिकित्सकीय लापरबाही गरेको ठहर गर्दै पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।

 

अदालतको आदेशअनुसार एभरेस्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. तिवारीले ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ। अदालतले अस्पतालको संस्थागत जिम्मेवारीसँगै उपचारमा संलग्न चिकित्सकको व्यक्तिगत जिम्मेवारी पनि रहेको निष्कर्ष निकालेको हो।

 

फैसलाअनुसार सिभियर प्रि–एक्लेम्प्सियाबाट पीडित बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट समयमै नदिनु उपचार प्रक्रियाको गम्भीर त्रुटि भएको ठहर गरिएको छ। शल्यक्रियापछि मात्रै औषधि दिइएकाले बिरामीको स्वास्थ्य अवस्था थप जटिल बनेको अदालतको निष्कर्ष छ।

 

मनिता शर्मा २०८१ मंसिर २५ गते एभरेस्ट अस्पतालमा भर्ना भएकी थिइन्। सिजेरियनमार्फत शिशुको जन्म भए पनि त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई ह्याम्स अस्पताल रेफर गरिएको थियो। भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

 

घटनापछि मृतकका श्रीमान् सुवास पराजुलीले चिकित्सकीय लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए। अस्पताल र चिकित्सकले उपचारमा कुनै लापरबाही नभएको दाबी गरे पनि अदालतले उपलब्ध प्रमाण र उपचार प्रक्रियाको मूल्यांकनपछि उक्त दाबी अस्वीकार गर्दै पीडित परिवारको पक्षमा फैसला सुनाएको हो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर