जनकपुरधाम — जनकपुरधामबाट काठमाडौंतर्फ पैदल मार्चमा निस्किएका मिटरब्याज पीडितसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।
गृहमन्त्री आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङले उनीहरूका माग, समस्या र गुनासाबारे छलफल गरेको मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिए।
मिटरब्याज पीडितहरूले ६ दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट तमसुक जलाउँदै काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका थिए। उनीहरूको आरोप छ कि प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाट मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइए पनि १०० दिन बितिसक्दा समेत आफूहरूको माग सुनुवाइ हुन सकेको छैन।
पीडितहरूले तमसुक व्यवस्था खारेज, मिटरब्याज पीडितको संरक्षणका लागि विशेष ऐन निर्माण, हडपिएका चल–अचल सम्पत्ति फिर्ता, तथा दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।
सरकार र पीडितबीचको वार्ताले समस्या समाधानतर्फ ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।








