२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खरेलले नक्सा प्रिन्ट गरी सेवाको शुभारम्भ गरेका हुन्।
यससँगै अब मुसिकोटका नागरिकले नापी तथा भूमि प्रशासनसम्बन्धी सेवा लिन मजुवा वा तम्घासतर्फ धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने भएको छ। जग्गा नापजाँच, नक्सा, स्रेस्ता लगायतका सेवाहरू अब स्थानीय तहबाटै उपलब्ध हुने नगरपालिकाले जनाएको छ।
शुभारम्भ कार्यक्रममा नगरप्रमुख खरेलले गुल्मी जिल्लामै पहिलोपटक नगरपालिकाबाट यस्तो सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए। उनले सेवा सञ्चालनले नगरवासीलाई सहज, छिटो र प्रभावकारी सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
हाल आंशिक रूपमा सेवा सुरु गरिएको भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापन पूरा गर्दै निकट भविष्यमै पूर्ण रूपमा नापी तथा भूमि प्रशासन सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार स्थानीय तहबाटै सेवा विस्तार गरी नागरिकलाई सरल, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने अभियानलाई निरन्तर अघि बढाइनेछ।








