२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या आरोपमा २ जना पक्राउ

काठमाडौं, २ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 

सांसद ओलीले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा शनिबार चितवनबाट दुई पुरुषलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ।

 

ओलीले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, धम्की, घृणास्पद अभिव्यक्ति र चरित्रहत्या गरिएको भन्दै शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। उजुरीपछि उनले आरोपितहरूको तस्बिरसमेत सार्वजनिक गरेकी थिइन्।

 

पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिँदै ओलीले असहमति, आलोचना वा फरक विचार लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, धम्की दिने वा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य स्वीकार्य हुन नसक्ने बताएकी छन्।

 

साइबर अपराधविरुद्ध कारबाही अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीलाई धन्यवादसमेत दिएकी छन्। यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर