काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:१९ बजे निधन भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
गम्भीर रूपमा घाइते भएका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल र अस्थिर भएकाले चिकित्सकको सल्लाहपछि उक्त योजना स्थगित गरिएको थियो।
अस्पतालका चिकित्सकहरूका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोका कारण अनुहार, टाउको, घाँटी, छाती तथा श्वासप्रश्वास नलीमा गम्भीर क्षति पुगेको थियो भने भित्री अंगहरू समेत प्रभावित भएका थिए। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखी डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक टोलीले उपचार गरिरहेको थियो।
भक्तपुरमा पत्नी र छोरीसँग बस्दै आएका गणेश नेपाली **राइड सेयरिङ एपमार्फत राइडरको काम गर्दै परिवारको जीविकोपार्जन गर्दै आएका थिए। राहदानी विभागअगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका क्रममा उनले आत्मदाहको प्रयास गरेका थिए।








