रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ८ जना अझै बेपत्ता छन्।** प्रहरीले बेपत्ता भएका व्यक्तिहरूको पहिचानसमेत खुलाएको छ।
पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।
८ जना अझै बेपत्ता
पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र *७१ वर्षीया मनि पुन मगर रहेका छन्।
बुधबार राति आएको पहिरोले थबाङ–५ कोटलबारामा घर तथा गोठ पुरेपछि ठूलो मानवीय क्षति भएको हो। घटनापछि प्रहरी तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो।
बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनास्थलको भौगोलिक अवस्था तथा लगातारको वर्षाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।








