२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते र १० जना बेपत्ता भएका छन्।

 

बुधबार राति करिब ८:४० बजे माथिबाट अचानक खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी राति करिब ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।

 

पहिरोमा मानिस तथा चौपायासमेत पुरिएको प्रारम्भिक विवरण प्राप्त भएपछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य अघि बढाइएको थियो। राति ११:५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको जनाइएको छ।

 

यस्तै, पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

 

थप खोज तथा उद्धारका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। बिहान करिब ४:३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका थिए।

 

घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ। प्रारम्भिक विवरणअनुसार पहिरोमा थप १० जना बेपत्ता रहेको खुलेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेका कारण बेपत्ताको अवस्था तथा घटनाको थप विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

अविरल वर्षापछि आएको पहिरोले कोटलबारामा ठूलो क्षति पुर्‍याएपछि अहिले उद्धार टोली बेपत्ताको खोजीमा जुटेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर