काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
यसअघि गएको शुक्रबार पनि सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको थियो। पाँच दिनसम्म लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबारदेखि पुनः उकालो लाग्न थालेको हो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो। त्यस्तै, त्यसअघिका चार दिन पनि सुनको मूल्य क्रमशः ९ सय, १४ सय, ९ सय र ४ सय रुपैयाँले घटेको थियो।
यता, चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको थियो।








