२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

विश्वकप खेलेका फुटबल स्टार जेडेन एडम्सको रहस्यमय निधन, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । दक्षिण अफ्रिकाका विश्वकप फुटबल खेलाडी जेडेन एडम्सको रहस्यमय निधन भएको छ। केप टाउनस्थित एक घरमा २५ वर्षीय एडम्स मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको छ।

 

दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका एडम्सको मृत्यु विश्वकप अभियानकै केही समयपछि भएको हो। हालसम्म उनको मृत्युको कारण सार्वजनिक गरिएको छैन।

 

केप टाउन केन्द्रीय प्रहरीले शनिबार बिहान स्कोट्चे क्लोफस्थित एक घरबाट एडम्सको शव फेला परेको पुष्टि गर्दै घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।

 

एडम्सका बुबा जुआनिटो एडम्सले परिवार पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा रहेको र अन्त्येष्टिबारे अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन्। उनले यो परिवारका लागि अत्यन्तै पीडादायी र असामयिक क्षति भएको उल्लेख गर्दै संयम अपनाइदिन सबैसँग आग्रह गरेका छन्।

 

एडम्सले विश्वकपको समूह चरणका तीनवटै खेल खेलेका थिए। दक्षिण अफ्रिकाका खेलकुद मन्त्री गेटन म्याकेन्जीले पनि अनुसन्धान जारी रहेकाले मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेका छन्।

 

यसैबीच, शनिबार सम्पन्न विश्वकप क्वार्टरफाइनलका दुई खेलअघि जेडेन एडम्सको सम्झनामा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर