काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ४७ हजार ७९ ले कम हो।
विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए।
यस अवधिमा म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्या उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्ष म्यानपावरमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या ३ लाख ५९ हजार ६७५ थियो। अर्थात्, म्यानपावरमार्फत विदेश जानेको संख्या ९० हजार ६८५ ले घटेको विभागले जनाएको छ।
यस्तै, व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ लाख २८ हजार ५२० जना र सरकार–सरकार (G2G) प्रणालीमार्फत ८ हजार १९७ जना वैदेशिक रोजगारीमा गएका छन्।
गन्तव्य मुलुकमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो रोजाइ बनेको छ। पुनः श्रम स्वीकृतिसहित १ लाख ८३ हजार ५८० जना नेपाली यूएई पुगेका छन्। त्यसपछि मलेसिया (१ लाख २८ हजार ७५३), साउदी अरेबिया (१ लाख २३ हजार ७१९), कतार (१ लाख २१ हजार २३०), कुवेत (४३ हजार ३६०), रोमानिया (३३ हजार ३६०) र जापान (२२ हजार २६६) नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेका छन्।








