२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

शिकार खेल्न जंगल पुगेका सल्यानका टोपबहादुर गोली लागेर मृत, ६ जना पक्राउ

सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनापछि उनीसँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा उक्त घटना भएको हो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगर अन्य व्यक्तिहरूसँग जंगलमा शिकार खेल्न गएका थिए।

 

शिकार गर्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेको थियो। गोली लागेर पुन मगरको पेटको तल्लो भाग र कम्मरमा चोट लागेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा शिकारमा सहभागी ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

 

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्।

 

घटनामा प्रयोग भएको भरुवा बन्दुक र गोली चलेको अवस्थाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण र जिम्मेवारीबारे थप अनुसन्धान भइरहेको छ।

 

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर