२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

सरकारको कामप्रति कुलमान घिसिङको असन्तुष्टि, ‘पाँच वर्ष टिक्ने संकेत देखिएन’

काठमाडौं, २ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा देशभर निराशा बढ्दै गएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे।

 

अध्यक्ष घिसिङले उद्योग–व्यवसायदेखि आम नागरिकसम्म सरकारले भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए। यही निराशाका कारण केही व्यवसायी र युवाहरूले आत्मदाहसम्म गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यसमा सरकार पनि केही हदसम्म जिम्मेवार रहेको उनको भनाइ थियो।

 

दुई तिहाइ नजिकको बहुमत भएको सरकारले जनताको आशा पूरा गर्न नसके देश फेरि अस्थिरता र द्वन्द्वतर्फ जान सक्ने चेतावनी दिँदै उनले भने, “हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस भन्ने हो, तर अहिलेसम्मको काम हेर्दा त्यो सम्भावना देखिएको छैन।”

 

घिसिङले उज्यालो नेपाल पार्टी कुनै क्षणिक राजनीतिक स्टन्टका लागि स्थापना नभएको स्पष्ट पार्दै देशका चुनौतीसँग जुध्न आफ्नो पार्टी तयार रहेको बताए। उनले रास्वपासँगको एकीकरणलाई विगतको ठूलो गल्ती भएको स्वीकार गर्दै अब कुनै पनि हालतमा उज्यालो नेपालको स्वतन्त्र अस्तित्व समाप्त नहुने स्पष्ट पारे।

 

उनका अनुसार वर्षायामपछि देशव्यापी तीन महिने अभियान सञ्चालन गरी प्रत्येक गाउँपालिकामा पुगेर जनताका समस्या बुझ्ने योजना रहेको छ। साथै आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी पनि उनले गरे।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर