२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुँदै, १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम तयारी

३ भदौ, सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिलाई थप स्थिर र भरपर्दो बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

 

करिब १ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माण भइरहेको ग्रिड सबस्टेसनसम्म विद्युत् प्रवाह सुरु भइसकेको छ।

 

प्रसारणलाइन सञ्चालनमा आएपछि हरिपुर, हरिपुर्वा, मलंगवा, गोडैता र बरहथवा लगायत दक्षिणी क्षेत्रको विद्युत् वितरण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

 

आयोजनाअन्तर्गत १३२ केभी लाइनबाट पाँचवटा ३३ केभी फिडर सञ्चालनमा ल्याउने तयारी छ। हरिपुर, हरिपुर्वा, मलंगवा, गरहैया–डुमरिया र बरहथवा क्षेत्रमा विद्युत् आपूर्ति गर्ने योजनाअनुसार काम अघि बढिरहेको छ। मलंगवा र हरिपुर फिडरमा विद्युत् प्रवाहका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको र भदौभित्रै आपूर्ति सुरु गर्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर सुशान्तकुमार ठाकुरले बताएका छन्।

 

यस आयोजनाको प्रारम्भिक सर्वेक्षण २०७६ सालमा सुरु भएको थियो। निर्माणका लागि २०७९ चैत २७ गते ठेक्का सम्झौता भएको थियो भने २०८० वैशाख २६ गतेबाट निर्माण सुरु गरिएको थियो। आयोजनाको ठेक्का सिग्मा कन प्रालि–एमएसपीएल जेभीले पाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर