२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

‘हामी बालेनका पुलिस होइनौँ’ भनेका डीएसपी चौधरी जिल्ला तानिए

I

कैलाली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ।

 

लागुऔषध दुव्र्यसनविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा उनले “हामी बालेनका पुलिस होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो” भन्ने अभिव्यक्ति दिएका थिए। उनले त्यसक्रममा “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो” समेत भनेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि उनलाई सामान्य सोधपुछ तथा काउन्सिलिङका लागि जिल्ला झिकाइएको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले डीएसपी चौधरीलाई पेशागत आचरणसम्बन्धी काउन्सिलिङका लागि बोलाइएको पुष्टि गरेका छन्। उनका अनुसार यो प्रहरी संगठनभित्रको नियमित आन्तरिक प्रक्रिया हो।

 

कार्यक्रममा डीएसपी चौधरीले आफू प्रतिस्पर्धात्मक परीक्षामार्फत २०७० सालमा प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै नेपाल प्रहरी कुनै राजनीतिक दल वा व्यक्तिको नभई कानुनअनुसार सञ्चालन हुने संगठन भएको बताएका थिए। उनले आफूहरू “भोट हालेर, टीका लगाएर वा दारुभात खाएर प्रहरीमा नआएको” भन्दै प्रहरी संगठनको निष्पक्षता र व्यावसायिकतामाथि जोड दिएका थिए।

 

भाषणको अन्त्यतिर उनले उक्त भिडियो सार्वजनिक नगर्न आग्रह गरेको आवाज पनि भिडियोमा सुनिन्छ। तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे यतिबेला व्यापक चर्चा भइरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर