२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

२१ विद्यालयका करिब ३,८०० विद्यार्थीलाई अब एउटै भान्साबाट पोषणयुक्त दिवा खाजा

२७ असार, काठमाडौं । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय र पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। आगामी १ साउनदेखि सञ्चालन हुने उक्त भान्साघरको शनिबार उद्घाटन गरिएको हो।

 

धनगढी–७, मनेहरामा स्थापना गरिएको भान्साघरबाट वडा नम्बर १ देखि ८ सम्मका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ हजार ७९५ विद्यार्थीका लागि दैनिक ताजा र पोषणयुक्त दिवा खाजा तयार गरिनेछ। तयार भएको खाजा विशेष सवारीमार्फत विद्यालयमै पुर्‍याएर वितरण गरिने उपमहानगरले जनाएको छ।

 

उपमहानगर प्रमुख गोपाल हमालका अनुसार भवन मर्मत, आवश्यक उपकरण, सवारी साधन तथा पूर्वाधार व्यवस्थापनसहित २ करोड ४५ लाख ३३ हजार रुपैयाँको लागतमा भान्साघर सञ्चालनमा ल्याइएको हो। यसका लागि विश्व खाद्य कार्यक्रम (WFP) ले ८६ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण उपलब्ध गराएको छ।

 

भान्साघरको सञ्चालन ‘फुड फर लाइफ’ नामक सामाजिक संस्थाले गर्नेछ। आधुनिक प्रविधिबाट तयार गरिने पोषणयुक्त दिवा खाजाले विद्यार्थीको स्वास्थ्य सुधार, विद्यालयमा नियमित उपस्थिति वृद्धि तथा बीचमै पढाइ छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

उपमहानगरले आगामी वर्षदेखि यो अवधारणालाई नगरका अन्य वडामा समेत विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर