कास्की । पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। प्रारम्भिक रूपमा आयोजना १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना तथा उपकरणहरूको प्राविधिक परीक्षण पनि गरिनेछ। परीक्षण सफल भएपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ।
आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन केही समय लागेको कम्पनीका निर्देशक दीपक बरालले बताए। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले स्वीकृति प्राप्त गर्न समय लागेको उनको भनाइ छ।
आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३,१०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ, जहाँ ११/११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएका छन्।
करिब ५ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको यस आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारी पनि गरिएको कम्पनीले जनाएको छ।
सेती नदीमा पछिल्लो समय जलविद्युत् क्षेत्रमा लगानी बढ्दो क्रममा रहेको छ। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा आइसकेको छ भने हाल आधा दर्जनभन्दा बढी नयाँ आयोजना विभिन्न चरणमा निर्माणाधीन वा प्रारम्भिक तयारीमा रहेका छन्।








