काठमाडौं, साउन ७ l ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएर १७ वर्षीया किशोरीबाट डिम्ब (ओभम) झिकिएको आरोप सार्वजनिक भएको छ। घटनापछि किशोरीको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारले प्रहरीमा उजुरी दिएपछि मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
पीडित किशोरीका अनुसार कक्षा ११ मा अध्ययनरत उनलाई सुरुमा एक साथीले डिम्ब दान गर्दा कुनै असर नपर्ने र राम्रो रकम पनि पाइने भन्दै प्रलोभनमा पारेकी थिइन्। त्यसपछि उनलाई एक बिचौलियाको सम्पर्कमा पुर्याइयो, जहाँ “शरीरलाई कुनै हानि हुँदैन, दुखाइ पनि हुँदैन” भन्दै विश्वास दिलाइएको थियो।
त्यसपछि किशोरीलाई ललितपुरको ग्वार्कोस्थित एक आईभीएफ केन्द्रमा लगिएको र सुरुमा डिम्ब विकास गराउन इन्जेक्सन लगाइएको पीडितको भनाइ छ। करिब एक सातापछि असार १४ गते उनको डिम्ब निकालिएको बताइएको छ।
डिम्ब झिकिएपछि भने किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको, अत्यधिक कमजोरी भएर ढल्ने अवस्था आएपछि परिवारले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएको जनाएको छ।
पीडितका अनुसार सुरुमा ५० हजार रुपैयाँ दिने भनिए पनि अन्ततः ३० हजार रुपैयाँ मात्र दिइएको थियो। उपचारमा थप खर्च लागेपछि आर्थिक समस्यासमेत भोग्नुपरेको परिवारको गुनासो छ।
घटनापछि परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ। परिसरका प्रवक्ता एसपी गौतम मिश्रले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताएका छन्।
यस प्रकरणमा प्रहरीले लमजुङ घर भई ललितपुर बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरी मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
यद्यपि, पीडित पक्षले डिम्ब निकाल्ने प्रक्रियामा संलग्न चिकित्सक र अन्य व्यक्तिमाथि पनि कारबाही हुनुपर्ने माग गरेको छ। प्रहरीले भने प्रमाण संकलन भइरहेको र संलग्न देखिने सबैलाई कानुनी दायरामा ल्याइने जनाएको छ।
नेपालमा लागू मापदण्डअनुसार डिम्बदान गर्ने महिलाको उमेर २० देखि ३५ वर्षभित्र हुनुपर्ने, प्रत्येक दानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्ने तथा स्वास्थ्य परीक्षण, सरुवा रोगको जाँच र सुसूचित मञ्जुरी अनिवार्य लिनुपर्ने व्यवस्था छ। तर यस घटनामा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको आरोपले मानव बेचबिखन र प्रजनन स्वास्थ्यसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।








