काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई उक्त राहत दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले जानकारी दिएका छन्।
घटनामा ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको हो।
बैठकले दुवै मृतकलाई सहिद घोषणा गर्न नेपाल सरकारसमक्ष औपचारिक आग्रह गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र मध्यम तथा सामान्य घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको जनाएको छ।








