काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनापछि पीडित परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ। सम्झौताअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही अघि बढाइनेछ। साथै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक अनुसन्धान सुरु गरिने उल्लेख गरिएको छ।
यस्तै, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझावहरू कानुनअनुसार कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।









