काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयता विरोधी नभई संघीय व्यवस्थालाई अझ प्रभावकारी र बलियो बनाउन पक्षमा रहेको स्पष्ट पारेका छन्।
सिंहदरबारमा मधेशकेन्द्रित दलका नेताहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिलाई लिएर गलत सन्देश गएको स्वीकार गर्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।
उनका अनुसार संघीयताले दिएको अधिकारको पूर्ण रूपमा प्रयोग हुनुपर्नेमा जोड दिँदै उनले आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा पनि कानुनले दिएको अधिकारको प्रयोग गरेको अनुभव सुनाएका थिए। संघीय प्रणालीमाथि कुनै खतरा नरहेको भन्दै उनले सबै पक्षलाई ढुक्क रहन आग्रह गरेका छन्।
छलफलमा सहभागी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा भएका विभिन्न राजनीतिक सहमति र सम्झौताहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसपटक भएका प्रतिबद्धता व्यवहारमै लागू हुनुपर्नेमा जोड दिएको बताए।
महतोका अनुसार छलफलमा भविष्यमा कुनै पनि सम्झौता कागजमै सीमित नरहोस् र कार्यान्वयनमा विशेष ध्यान दिइयोस् भन्ने विषय प्रमुख रूपमा उठाइएको थियो।








