नवलपरासी (पश्चिम)। नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२, हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट UP 57 BP 4162 रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ निवासी २५ वर्षीय विजय चौहानको सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत निवासी २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय कमल राना घाइते भएका छन्। दुवै जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति वा सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने घटनाको वास्तविक कारण खुल्न बाँकी छ।








