धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ५:३० बजे विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई शंकाको आधारमा रोकि चेकजाँच गर्दा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल ६४७ किलोग्राम रहेको छ।
घटनामा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राई पक्राउ परेका छन्।
प्रहरीले बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।








