नेपालगंज । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ ।
दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।
प्रवक्ता भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ । उनीहरुले कुन/कुन ठाउँको परिधिभित्रको क्षेत्र मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्छन् ।
देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्छन् । र, निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमा नै रहन्छन् ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको रिपोर्ट आएको थियो । आयोगले सुदूरपश्चिम र कर्णालीमा सडकको सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरेको थियो । आइतबार अपराह्नसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिव ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका थिए ।
तुलनात्मक रुपमा सडकको सुविधा पुगेको ठाउँमा भने आइतबार अपराह्नसम्म कर्मचारी पुगेका थिए । शहरी क्षेत्र र तराईका केन्द्रहरुमा ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्नेछन् ।
मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका निर्वाचन सामग्रीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिएको हुन्छ । निर्वाचन आयोग र प्रहरी हेडक्वाटरले सुरक्षाकर्मीहरुलाई मतदान अधिकृत लगायतका कर्मचारी र सिलबन्दी गरिएका मतपत्र लगायतका सामग्रीलाई नछाड्नु र २४ सै घण्टा निगरानी गर्नु भनेर निर्देशन दिएको छ ।
मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार, हरेक स्थानीय तहको एउटा वडामा कम्तिमा एउटा मतदान केन्द्र रहन्छ । तर मतदाताहरुलाई टाढा हुने भएमा एकभन्दा बढी केन्द्र पनि तोकिने व्यवस्था छ । एउटा मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुदैनन् ।
बढी मतदाता हुने भएमा एउटा मतदान स्थल तोकेर त्यसभित्र क, ख, ग गरी अलगअलग मतदान केन्द्र तोकिन्छ । तर निर्देशिकाले एकै ठाउँमा सातवटा भन्दा बढी केन्द्रहरु तोक्न नमिल्ने व्यवस्था गरेको छ ।
मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना निकालेपछि सकेसम्म छिटो सर्वपक्षीय बैठक डाक्नुपर्नेछ । त्यसपछि उनीहरुले निर्वाचनको प्रचारप्रसार गर्न रोकिएको सूचना पनि निकाल्नुपर्नेछ ।
त्यसपछि उनीहरुले मतदान केन्द्र बनाउने, मतदान शुरु भएदेखि सम्पन्न हुँदासम्म पटकपटक सर्वपक्षीय बैठक गर्ने र मतपेटिकाका मुचुल्काहरु बनाउने काम गर्नुपर्नेछ ।
मतदान सकिएर सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा मतपेटिका मुचुल्का गरेपछि मतदान केन्द्रको काम सकिन्छ । अनि मतदान अधिकृतले मतपेटिका सहितका निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।
निर्वाचन सामग्री बुझेर मतदान गराई निर्वाचन अधिकृतलाई मतपेटिका बुझाएपछि मात्रै मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुको जिम्मेवारी पुरा हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । उनी भन्छन्, ‘त्यतिञ्जेलसम्म कर्मचारी र साथमा खटिने सुरक्षाकर्मीहरु साथमा रहेर मतदानको काम गराउनुपर्नेछ ।’








