२०८३ भाद्र १० बुधबार
[the_ad id="6228"]

कर्णालीमा गाडी खस्दा बेपत्तामध्ये थप दुई जनाको शव फेला, अन्यको खोजी जारी

दैलेख ।कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनामा बेपत्तामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ।

 

यससँगै दुर्घटनामा मृत्यु भई पहिचान खुल्नेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी बुझिसकेका छन्।

 

मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा, मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्काका रूपमा भएको छ।

 

यता, गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

 

बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीका अनुसार परिवारका मुख्य सहारा नै दुर्घटनामा परेकाले परिवार शोकमा डुबेको छ।

 

गत असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

 

हाल सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायले नदी तथा आसपासका क्षेत्रमा बेपत्ता यात्रुको खोजी कार्यलाई निरन्तरता दिएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर