काठमाडौं, २९ असार। थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ। मृतकमध्ये ९ जना पुरुष र १८ जना महिला रहेका छन्। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी चाटुचक जिल्लास्थित लोकप्रिय मनोरञ्जनस्थल ‘रोङ बियर ना लाट फ्राओ’ (Rong Beer Na Lat Phrao) मा भएको हो। आगो लागेपछि बारभित्र रहेका मानिसहरू ज्यान बचाउन भागाभाग गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किएको, मानिसहरू चिच्याउँदै बाहिर भागिरहेको र केही व्यक्तिको शरीरमा समेत आगो सल्किएको देखिन्छ।
प्रधानमन्त्रीका अनुसार कार्यक्रममा प्रस्तुति दिइरहेका एक संगीतकारले सुरुमा मुख्य विद्युत् स्विच (कट–आउट) नजिक आगो लागेको जानकारी दिएका थिए। त्यसको केही क्षणमै विस्फोटजस्तो आवाज आएपछि धुवाँ र आगो तीव्र रूपमा फैलिएको थियो।
धेरै मानिस मुख्य प्रवेशद्वारबाट बाहिर निस्कन नसकेपछि भवनको पछाडिपट्टि रहेको शौचालयमा लुकेका थिए, जहाँबाट अधिकांश शव फेला परेको प्रधानमन्त्रीले बताए।
दमकलकर्मीहरूले करिब आधा घण्टामै आगो नियन्त्रणमा** लिए पनि त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो। प्रारम्भिक अनुसन्धानमा बारभित्र प्रयोग गरिएका अत्यधिक ज्वलनशील सजावटी सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण फरेन्सिक अनुसन्धानपछि मात्र पुष्टि हुने अधिकारीहरूले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार राति करिब ११:३० बजे त्यहाँबाट गुज्रिरहेका एक चालकले बारमा आगो लागेको देखेपछि दमकललाई खबर गरेका थिए। उनले आफ्नो गाडी रोकेर झ्याल फुटाई दुई जनालाई सकुशल उद्धार गर्न सफल भएको बताएका छन्।








